काठमाडौँ –
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पतञ्जली योगपीठको जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि दायर मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मात्रै नभएको हुन सक्ने बताएका छन्।
संसद् भवनमा आफूनिकट पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले भने, “बाहिर हेर्दा केपी ओलीले गराएको जस्तो देखिन्छ, तर अख्तियार प्रमुख प्रेम राईले ओलीले भनेको नमान्ने स्वभावका छन्। उनले आफ्नै ढङ्गले गरेको हुन सक्छ।” उनले कुलमान घिसिङमाथि मुद्दा चलाउन ओलीले निर्देशन दिए पनि राईले नमानेको उदाहरण दिँदै यो मुद्दा ओलीको मात्रै योजनामा नभएको संकेत गरे।

प्रचण्डले सत्तारूढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत यो मुद्दाबारे अनभिज्ञता व्यक्त गरेको खुलासा गरे। उनले भने, “देउवाजीले मलाई फोन गरेर माधव नेपालको मुद्दा के भएको हो भनेर सोध्नुभयो। सत्तापक्षको सबैभन्दा ठूलो पार्टीको नेताले यस्तो प्रश्न सोध्दा म छक्क परें। मैले तपाईंलाई नै सोध्नुपर्ने हो भनें।” उनले देउवासँगको कुराकानीमा ठट्टा पनि भएको र यो मुद्दा दर्ता गर्दा देउवासँग सल्लाह नभएको आफूलाई लागेको बताए।
पतञ्जली योगपीठको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधवकुमार नेपालसँग बयान लिएको थियो। यो प्रकरणमा मन्त्रिपरिषद्को नीतिगत निर्णयमाथि अख्तियारको क्षेत्राधिकार नपर्ने भन्दै नेपालले बयान दिन अस्वीकार गरेको अख्तियार स्रोतले जनाएको छ।