भक्तपुर –
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले र यसको नेतृत्वविरुद्ध राजावादी, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरू संगठित रूपमा लागिपरेको दाबी गरेका छन्। शुक्रबार भक्तपुरमा आयोजित बागमती प्रदेशको प्रचार कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताए।
उपमहासचिव ज्ञवालीले भने, “पछिल्लो समय एमाले र नेतृत्वविरुद्ध गाली नगरी कसैको पसल चल्दैन भन्ने अवस्था छ। खासगरी राजावादी, माओवादी र रास्वपाले एमालेलाई निशाना बनाएका छन्। एमाले गणतन्त्रवादी दल भएकाले राजावादीविरुद्ध छ, माओवादीले ३२ सिटको जादु नचलेपछि सरकार र एमालेविरुद्ध छ, र रास्वपाले पुराना दललाई गाली नगरी अगाडि बढ्न नसक्ने ठानेको छ।” उनले एमालेमाथिको यो चौतर्फी घेराबन्दीलाई तोड्दै पार्टी सरकारमा पुग्न सफल भएको दाबी गरे।

ज्ञवालीले प्रभावकारी प्रचार, जनप्रतिनिधिको कार्यशैली र जनसंगठनको सक्रियताले जनमत बढ्ने भएकाले योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्ने बताए। उनले एमालेलाई राष्ट्रवादी शक्तिको रूपमा चित्रण गर्दै देश विकासको नेतृत्व गर्ने जिम्मेवारी पनि एमालेको काँधमा रहेको उल्लेख गरे। साथै, उनले मिसन २०८४ लाई ध्यानमा राखेर सबै नेता–कार्यकर्तालाई आ–आफ्नो स्थानबाट सक्रिय हुन निर्देशन दिए।
कार्यशालामा बागमती प्रदेशकी उपसचिव एवं प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले दुईदिने कार्यशालाले १०१ सदस्यीय प्रचार सञ्जाल गठन गरेको जानकारी दिइन्।