२०८२ असार १७ गते, मंगलवार ००:५२

काठमाडौँ-

स्थायी रुपमै देश छाड्ने नेपालीको संख्या बढ्दै गएको छ । मुलुकमा बढ्दो भ्रष्टाचार, राजनीति खिचातानि, अराजकता, बेथिति, बेरोजगारी जस्ता कारणले वाक्कदिक्क भएर नेपालीहरुले सधैँका लागि देश छाड्ने क्रम बढ्दो रुपमा देखिएको हो । पछिल्लो २ वर्षको मात्रै सरकारी तथ्यांक हेर्ने हो भने १ लाख ३७ हजार ७ सय ५० नेपाली स्थायी रुपमै देश छाडेर विदेशमा बसाइँ सरेका छन् ।

अध्यागमन कार्यालयकाअनुसार त्यसरी देश नै छाडेर विदेश बसाईंसराईं गर्नेहरुमा महिला भन्दा पुरुषको संख्या धेरै देखिन्छ । दुई वर्षको अवधिमा मात्रै ७१ हजार २ सय ७ जना नेपाली पुरुष स्थायी रुपमै बसाईं सरेर नेपालबाट अनुमति लिएरै विदेश गएका छन् । त्यस्तै त्यसरी बसाईं सरेर विदेश जाने महिलाको संख्या ६६ हजार ५ सय ३८ रहेको छ ।

अध्यागमन कार्यालयबाट प्राप्त तथ्यांकअनुसार सन् २०२३ मा मात्रै स्थायी रुपमै विदेशमा बसाईं सरेर ६६ हजार ८ सय ३५ नेपाली गएका छन् भने सन् २०२४ मा ७० हजार ९ सय १५ नेपाली सधैँ उतै बस्नेगरी गएका छन् । यसले ठूलो संख्यामा नेपाली देश नै छाडेर विदेशमा बसाईं सरिरहेको देखाएको छ ।

पछिल्लो समयमा नेपालमा लगानीको वातावरण नभएको भनेर अड्कलबाजी भइरहेको बेला कतै हजारौँ नेपालीमार्फत स्वदेशी पुँजी पलायन भइरहेको त छैन भन्ने आशंका विभागको तथ्यांकले देखाएको छ । तर देश छाड्ने नेपालीको पृष्ठभूमि परिचय भने सरकारले ट्रयाक गर्ने गरेको छैन ।

स्थायी मात्रै नभई अस्थायी रुपमा उतै बस्नका लागि पनि ठूलो संख्यामा नेपालीहरु विदेश गईरहेको सरकारी तथ्यांकले देखाउँछ । सन् २०२३ मा १ लाख ८ सय २७ जना नेपाली अस्थायी रुपमा विदेशमा बस्नेगरी नेपालबाट अनुमति लिएर गएका छन् भने सन् २०२४ मा मात्रै ९२ हजार ३ सय ४९ नेपाली अस्थायी रुपमा विदेशमा बस्नका लागि एयरपोर्ट प्रयोग गरेर नेपाल छाडेको अध्यागमन कार्यालयको तथ्यांकले देखाउँछ । कुल अस्थायी रुपमा विदेश जाने नेपालीको संख्या १ लाख ९३ हजार १ सय ७६ रहेको छ ।

पछिल्लो यो दुई वर्षमा रोजगारीको खोजीमा ठूलो संख्यामा विदेश गएको पनि तथ्यांकले देखाएको छ । सन् २०२३ र २०२४ मा मात्रै नेपालमा काम नपाएर रोजीरोटीका लागि १६ लाख ६४ हजार ८ सय ३७ नेपाली विदेश गएका छन् । अध्यागमन कार्यालयकाअनुसार सन् २०२३ को तुलनामा २०२४ मा रोजगारीका लागि विभिन्न मुलुक जानेहरुको संख्या पनि वृद्धि भएको देखिन्छ ।

सन् २०२३ मा कामको खोजीका लागि विदेश जाने नेपालीको संख्या ८ लाख ८ हजार ४ सय १५ रहेकोमा सन् २०२४ मा ८ लाख ५६ हजार ४ सय २२ रहेको छ ।
पछिल्लो दुई वर्षको अवधिमा अध्ययानका लागि ठूलो संख्यामा विद्यार्थी बाहिर गएको तथ्यांकले देखाएको छ । सन् २०२३ र २०२४ मा मात्रै नेपालमा मात्रै विद्यार्थी भिसामा २ लाख २७ हजार ९५१ जना विदेश गएका छन् । सन् २०२३ को तुलनामा २०२४ मा पढ्नका लागि विदेश जानेहरुको संख्या बढेको देखिन्छ ।

सन् २०२३ मा १ लाख ८ हजार ५ सय ४२ जना पढ्नका लागि विदेश गएकोमा अर्को वर्ष २०२४ मा मात्रै १ लाख १९ हजार ५ सय ९ जना अध्ययनका लागि देशै छाडेर विद्यार्थी विभिन्न मुलुकमा गएको तथ्यांकले देखाएको छ ।

यस्तै पछिल्लो समय भिजिट भिसामा विदेश जाने नेपालीको संख्या पनि बढेको देखिन्छ । अध्यागमन विभागले उपलव्ध गराएको तथ्यांकअनुसार पछिल्लो ४ लाख ७८ हजार ८४६ नेपाली विदेशमा गएका छन् । सन् २०२३ को तुलनामा २०२४ मा घुमफिरका लागि भन्दै धेरै नेपाली विदेश गएको तथ्यांकले देखाएको छ । सन् २०२३ मा २ लाख ४ हजार ५ सय १८ नेपाली घुमफिरका लागि विदेश गएकोमा सन् २०२४ मा मात्रै २ लाख ७४ हजार ५ सय १८ नेपाली विभिन्न मुलुकमा घुमफिरका लागि भन्दै भिजिट भिषामा गएका छन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस