काठमाडौं-
अमेरिकाको भर्जिनिया राज्यस्थित मानसास पार्कको एक घरमा चार नेपाली नागरिक मृत अवस्थामा फेला परेका छन्।
अमेरिकी सञ्चारमाध्यम NBC Washington का अनुसार, मृतकहरूमा दुई बालबालिका र दुई वयस्क रहेका छन्। प्रहरीले मृतकहरूको पहिचान ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, आठ वर्षीया बालिका र दुई वर्षीय बालकका रूपमा गरेको छ।

प्रारम्भिक अनुसन्धानमा सबै मृतकको शरीरमा गोली लागेका घाउ भेटिएको र घटनास्थलबाट एक थान बन्दुक बरामद भएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले यो घटना हत्या, आत्महत्या वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा विस्तृत अनुसन्धान गरिरहेको छ।
छिमेकीहरूका अनुसार, मृतक परिवार करिब छ महिनाअघि नेपालबाट अमेरिका गएका थिए। घटनाको यकिन कारण र थप विवरण खुल्न बाँकी छ। प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको र चाँडै नै थप जानकारी सार्वजनिक गर्ने जनाएको छ।