काठमाडौं-
प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग कुनै पनि हिसाबले ‘प्रयोग हुने संस्था नभएको’ स्पष्ट पार्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै पतञ्जलीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेपछि यस विषयमा राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो भनाइ सार्वजनिक भएको हो ।
मोरङको कटहरी गाउँपालिका– २ हल्दीबारीमा २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटनपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अख्तियारको स्वतन्त्रतामा जोड दिनुभयो ।

पत्रकारहरूले पूर्वप्रधानमन्त्री माधव नेपालमाथि प्रतिशोध साँध्न अख्तियारलाई प्रयोग गरिएको हो भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले अख्तियार ‘प्रयोग हुने संस्था नभई काम गर्ने संस्था’ भएको जवाफ दिनुभयो । उहाँको यो भनाइलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्ष रूपमा काम गरिरहेको र यसमा कुनै बाह्य प्रभाव नरहेको सन्देशका रूपमा हेरिएको छ ।