काठमाडौँ –
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले तत्काल ठूलो आन्दोलन नहुने तर उपयुक्त समयमा पार्टीले बृहत् आन्दोलन गर्ने बताउनुभएको छ। झापाको हल्दिबारीमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दू राष्ट्रका लागि मात्र नभई देशमा सुशासन र विकासका लागि पनि भएको स्पष्ट पार्नुभयो।
अध्यक्ष लिङ्देनका अनुसार राप्रपाको आन्दोलनको मुख्य उद्देश्य राजसंस्थाको पुनःस्थापना र हिन्दू राज्यको घोषणाका साथै देशमा व्याप्त भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नु र विकासका गतिविधिहरूलाई तीव्रता दिनु हो। उहाँले जुनसुकै व्यवस्था आए पनि विगत तीन दशकदेखि सीमित नेताहरूले देशको नेतृत्व गरिरहेकाले नेतृत्व परिवर्तनको आवश्यकता रहेको औंल्याउनुभयो।
संविधानका विषयमा राप्रपाको धारणाबारे बोल्दै अध्यक्ष लिङ्देनले संविधानमा रहेका कतिपय कुरामा पार्टीको फरक मत रहेको स्वीकार गर्नुभयो तर कतिपय पक्षहरू भने राम्रा रहेको उल्लेख गर्नुभयो।