काठमाडौं –
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले यस वर्षको बजेटमा २ लाख रुपैयाँसम्मका साना योजनाहरूलाई समेत सङ्घीय सरकारअन्तर्गत राखेको आरोप लगाउनुभएको छ। सरकारले ३ करोडभन्दा कम बजेटका आयोजनाहरू सङ्घअन्तर्गत नराखिएको दाबी गरे पनि सहरी विकास मन्त्रालयको विनियोजित बजेटमा २ लाख रुपैयाँसम्मका योजनाहरू समावेश भएको पाइएको उहाँको भनाइ छ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पुनले भन्नुभयो, “सहरी विकास मन्त्रालयको बजेटमा २ लाखका योजनाहरू समेटिएको छ। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीलाई ३ करोडको कुरा गर्दा २५ लाखभन्दा तलका योजना नराखिएको जवाफ दिए। तर, २ लाखका योजनाको कुरा उठाउँदा उहाँ जवाफ दिन सक्नुभएन।”

उहाँले सरकारले बजेटमा मनपरी गरेको र सहरी विकास मन्त्रालयमा मात्रै ३० देखि ३२ अर्ब रुपैयाँको ‘चलखेल’ भएको दाबी गर्नुभयो। पुनले थप्नुभयो, “३ करोडको कुरा होइन, २ लाखका योजनाहरू राखिएको छ। साना–ठुला सबैखाले योजनामा मनपरी गरिएको देखिन्छ।”
यसैगरी, उपमहासचिव पुनले बजेटमा १६औँ योजनाको कुनै उल्लेख नभएको बताउनुभयो। उहाँले संविधान जारी भएयता माओवादी केन्द्रले विपक्षीको हैसियतमा पहिलो पटक बजेटमाथि आफ्नो धारणा राखेको पनि जानकारी दिनुभयो।