काठमाडौं–
आइसिसी विश्वकप लिग टु को चौथो चरणको त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज स्कटल्याण्डको सामना गर्दैछ। खेल स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डलाई १ विकेटले रोमाञ्चक रूपमा पराजित गरेको थियो। उक्त खेलमा नेपालले ५० ओभरको १ बल बाँकी रहँदा २९७ रनको विशाल लक्ष्य पूरा गरेको थियो। करण केसीको धैर्यपूर्ण ब्याटिङ र ओडिआईमा पहिलो अर्धशतकले असम्भवप्राय: देखिएको जित सम्भव भएको थियो। त्यस्तै, गत साता नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो।

यो सिरिजमा नेपाल र स्कटल्याण्ड दुवैको यो तेस्रो खेल हो। स्कटल्याण्डले शुक्रवार नेदरल्याण्ड्सलाई पराजित गर्दै लगातार दोस्रो जितको लक्ष्य राखेको छ। नेपाल भने सिरिजमा दोस्रो जित हासिल गर्ने योजनामा छ।
नेपालले यो त्रिकोणात्मक सिरिजको अन्तिम खेल मंगलवार नेदरल्याण्ड्सविरुद्ध खेल्नेछ। लिग टु को अंक तालिकामा स्कटल्याण्ड १८ खेलमा २२ अंकसहित चौथो स्थानमा छ भने नेपाल १४ खेलमा १० अंकसहित सातौं स्थानमा छ। सन् २०२७ सम्म चल्ने लिग टु मा शीर्ष चार टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउनेछन्, जबकि पुछारका चार टोलीले विश्वकप छनोट प्लेअफ खेल्नुपर्नेछ।
लिग टु को खेलपछि आगामी आइतवार (असार १९) बाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टि–ट्वान्टी सिरिज सुरु हुनेछ।
नेपाली टोली: रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी।