काठमाडौं-
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ भनेको नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु रहेको बताउनुभएको छ ।
अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । विगतमा दुनियाँमै कम्युनिष्ट र समाजवादी आन्दोलन धरापमा परेको समयमा पनि जनताको बहुदलीय जनवादले नै आन्दोलनको रक्षा गरेको प्रधानमन्त्री ओलीको भनाई छ ।

उहाँले अबको १३ महिनापछि नेपाली काँग्रेसलाई नेतृत्व सुम्पिएर सरकारमा सामेल हुने र नेतृत्व सुम्पिएपछि आपूmहरु मिसन ८४ मा लाग्ने स्पष्ट पार्नुभयो । अहिले पनि विपक्षी दलले अनेक जालझेल गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले एकता, फेरि एकता र सुदृढ एकता आपूmहरुको आवश्यकता रहेको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले गणतन्त्रको रक्षा गर्ने, सदृढ गर्ने र यसलाई गतिशील ढंगले सही बाटोमा अघि बढाउने जिम्मेवारी एमालेको काँधमा रहेको दावी गर्नुभयो ।
उहाँले पार्टीप्रतिको निष्ठा जस्तोसुकै कालखण्डमा पनि नछोड्न र सही विचार अंगालेर अगाडि बढ्न सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।