२०८२ असार १७ गते, मंगलवार ०१:३२
सारांशः

  • नक्कली प्रमाणपत्रको आरोप: पर्साका शिक्षक चन्देशकुमार चौहानले मगध विश्वविद्यालयको नक्कली स्नातक प्रमाणपत्र प्रयोग गरी पदोन्नति लिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ।
  • विशेष अदालतमा आरोपपत्र: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र पेश गरेको हो।
  • अनुसन्धानको निष्कर्ष: आयोगको अनुसन्धानमा चौहानले द्वितीय श्रेणीमा बढुवाका लागि नक्कली प्रमाणपत्र प्रयोग गरेको पुष्टि भएको छ, र कैद तथा जरिवानाको माग गरिएको छ।

 

वीरगन्ज –

ख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको रामदेनी तिवारी आधारभूत विद्यालयमा कार्यरत निमावि द्वितीय श्रेणीका शिक्षक चन्देशकुमार चौहानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोपमा आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार चौहानले मगध विश्वविद्यालय, बोधगयाबाट अंग्रेजीमा स्नातक तह उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पाइएको छ । वीरगन्ज महानगरपालिका–१, छपकैयास्थित उक्त विद्यालयमा २०६० मंसिर ५ गते निमावि तृतीय श्रेणीको अंग्रेजी शिक्षकमा स्थायी नियुक्ति भएका चौहानले निमावि द्वितीय श्रेणीमा बढुवाका लागि नक्कली प्रमाणपत्र प्रयोग गरेको आयोगको अनुसन्धानले पुष्टि गरेको छ ।

आयोगले चौहानविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको ठहर गर्दै सोही दफा र उपदफाअनुसार कैद र जरिवानाको मागदाबी गरेको छ । विशेष अदालतले यो मुद्दामा थप कारबाही अघि बढाउने छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस