मुख्यमन्त्री सतीश कुमार सिंहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले व्यापक असन्तुष्टि व्यक्त गर्दै संशोधन प्रस्तावहरू पेश गरेका छन् ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
जनकपुरधाम-

मधेश प्रदेश सभामा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफल सोमबारदेखि सुरु भएको छ । मुख्यमन्त्री सतीश कुमार सिंहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले व्यापक असन्तुष्टि व्यक्त गर्दै संशोधन प्रस्तावहरू पेश गरेका छन् । अधिकांश सांसदले नीतिलाई ‘नारामुखी’, ‘अस्पष्ट’ र ‘संवेदनशीलताको अभाव’ भएको भन्दै आलोचना गरेका छन् ।
जनता समाजवादी पार्टी नेपालका सांसद रामअशिष यादवले मधेश आन्दोलन र जनआन्दोलनको उल्लेख नभएकोमा आपत्ति जनाउँदै पूर्वाधार प्रतिष्ठानको सहयोगलाई निरन्तरता दिई थप सुविधा उपलब्ध गराउन माग गरे । सांसद माला कर्णले नीतिलाई ‘नाराको पुलिन्दा’ भन्दै कार्यान्वयनको स्पष्ट खाका नभएको र माता जानकीको स्थललाई वैवाहिक स्थलमा मात्र सीमित गरिएकोप्रति असन्तुष्टि जनाइन् । उनले प्रहरी ऐन र धार्मिक-ऐतिहासिक महत्व समेट्नुपर्ने बताइन् ।
सांसद किरण कुमारीले नीति जनजीवनसँग नजोडिएको भन्दै राजविराजको फोहोर र अस्वस्थ वातावरणप्रति सरकारको ध्यानाकर्षण गराइन् । सांसद संजय कुमार यादवले मधेश जनविद्रोहको ऐतिहासिकता, विशेषज्ञ अस्पताल, नमुना विद्यालय, प्रादेशिक गल्र्स कलेज, दलित र मुस्लिम समुदायका लागि विशेष कार्यक्रम र लगानी सम्मेलनको प्रस्ताव गरे ।
नेकपा एमालेका सांसद लखन दासले सामुदायिक विद्यालयको कमजोर अवस्था र शिक्षामा दक्ष जनशक्ति उत्पादनको स्पष्ट योजना नभएको बताए । सांसद कुमारकान्त झाले गुठी जग्गा कब्जा र माध्यमिक परिक्रमा व्यवस्थापनको मुद्दा उठाए । सांसद चन्दन कुमारले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन र श्रमिकको यातायात, रोजगारी र सुरक्षाका लागि छुट्टै जलवायु नीति बनाउन सुझाए ।
प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफल मंगलबार पनि जारी रहने छ ।