२०८२ असार १६ गते, सोमबार २०:२०
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  तीन सांसद निलम्बनमा: मधेश प्रदेशमा जनता समाजवादी पार्टीका सरोज सिंह कुशवाहसहित तीन जना सांसद—दिपेन्द्रकुमार ठाकुर (एमाले) र अभिराम शर्मा (लोसपा)—निलम्बनमा परेका छन्।
  • भ्रष्टाचार र हत्याको आरोप: कुशवाहमाथि उपभोक्ता समितिको रकम निजी खातामा राखेर भ्रष्टाचार गरेको आरोप छ; ठाकुरमाथि भवन निर्माणमा अनियमितता, र शर्मामाथि असई थमन विकको हत्यामा संलग्न रहेको आरोपमा जन्मकैदको सजाय सुनाइएको हो।
  • राजनीतिक जटिलता: हाल मधेश प्रदेशसभामा १०४ सांसद मात्रै सक्रिय छन्, जसले प्रदेशको राजनीतिक तथा प्रशासनिक वातावरण थप जटिल बनाएको छ।

पर्सा-

मधेश प्रदेशका थप एक सांसद निलम्बनमा परेका छन्। शुक्रबार महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४(२) बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद सरोज सिंह कुशवाह निलम्बनमा परेका हुन्। यो सँगै मधेश प्रदेशमा निलम्बित सांसदको संख्या तीन पुगेको छ। निलम्बित हुनेमा दुई जना महोत्तरी र एक जना धनुषाका सांसद छन्।

यसअघि धनुषा ३(२) बाट निर्वाचित नेकपा (एमाले) का सांसद तथा संसदीय दलका उपनेता दिपेन्द्रकुमार ठाकुर र महोत्तरीका लोसपाका संसदीय दलका नेता अभिराम शर्मा निलम्बनमा परिसकेका छन्।

कुशवाहमाथि भ्रष्टाचारको आरोप
प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र पढेर कुशवाहको निलम्बनबारे जानकारी गराएका थिए। कुशवाहलाई बिहीबार काठमाडौँको अनामनगरबाट पक्राउ गरिएको थियो। अख्तियारको अनुसन्धानअनुसार, उनले विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको रकम आफ्ना निजी सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरेर घुसबापत आफ्नो खातामा राखेको खुलेको छ। कायस्थलाई केही दिनअघि महोत्तरीबाटै पक्राउ गरिएको थियो।

ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा
यसअघि, सत्तारुढ नेकपा (एमाले) का सांसद दिपेन्द्रकुमार ठाकुरविरुद्ध भवन निर्माणमा अनियमितताको आरोपमा जेठ २७ गते अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। ठाकुरको सांसद पद पनि सोही मुद्दाका कारण निलम्बनमा परेको छ।

शर्मालाई जन्मकैदको सजाय
लोसपाका नेता अभिराम शर्मालाई सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत महोत्तरीले २०८० मङ्सिर २८ गते जन्मकैदको सजाय सुनाएको थियो। सोही फैसलापछि उनी २०८१ वैशाख १८ गतेदेखि निलम्बनमा छन्।

प्रदेशसभामा सांसद संख्या १०४ कायम
मधेश प्रदेशसभामा कुल १०७ सांसद रहेकोमा तीन जना निलम्बनमा परेपछि हाल १०४ सांसद कायम छन्। निलम्बनका घटनाले मधेश प्रदेशको राजनीतिक र प्रशासनिक वातावरणमा थप जटिलता थपिएको छ।

*

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस