२०८२ असार १७ गते, मंगलवार ०१:३१
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  अवैध सुनसहित पक्राउ: कास्की प्रहरीले १ करोड ३० लाख रुपैयाँभन्दा बढी मूल्यको ८२ तोला सुनसहित भारतका कुलदिप सिंह र नेपाली रामबहादुर बिकलाई पक्राउ गरेको छ।
  •   पक्राउको अवस्था: पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबसमा चेकजाँचका क्रममा सुनका गरगहना बरामद गरिएको हो।
  •  अनुसन्धान र संलग्नता: दुवैबीच फेसबुकमार्फत सम्पर्क रहेको र भारतबाट ल्याएको सुन नेपालमा बिक्री गर्ने योजनामा संलग्न रहेको खुलेको छ।

पोखरा –

कास्की प्रहरीले गोप्य सूचनाको आधारमा करिब एक करोड ३० लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पन्जाब, अमृतसरका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही, तिलोत्तमा नगरपालिका–१६ का ४७ वर्षीय रामबहादुर बिक छन्।

प्रहरीले पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रो बसमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ८२ तोला १६ लाल सुनका विभिन्न गरगहना बरामद गरिएको छ। बरामद गरगहनामा सिक्री, औँठी, झुम्का, जुली, लकेट, मंगलसूत्र, पोते लगायत छन्, जसको बजार मूल्य १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

कास्की प्रहरीका एसपी श्यामबाबु ओलियाका अनुसार पक्राउ परेका दुवै जनालाई राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको छ। प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच फेसबुकमार्फत तीन वर्षअघिदेखि सम्पर्क रहेको र कुलदिप सिंहले भारतका विभिन्न राज्यमा सुनका गहना बिक्री गर्ने गरेको खुलेको छ। उनले अमृतसरस्थित अमरजित साहुको सुन पसलबाट गहना ल्याई नेपालमा बिक्री गर्ने योजना बनाएका थिए। रामबहादुर बिकले बिक्रीबाट केही रकम पाउने सर्तमा उनलाई साथ दिएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ।

प्रहरी प्रवक्ता तथा डीएसपी हरिबहादुर बस्नेतले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस