♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौं –
भिजिट भिसा प्रकरणले संसद तातिरहेको बेला सांसदहरुबीच व्यक्तिगत आरोप-प्रत्यारोपले सदन थप तनावग्रस्त बनेको छ। शनिबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले रास्वपाका सांसद डिपी अर्याललाई लक्षित गर्दै भिजिट भिसामा मानव तस्करी गर्ने व्यक्ति सदनमै रहेको अभिव्यक्ति दिए। जवाफमा अर्यालले खतिवडामाथि मन्त्रीको पिए हुँदा अवैध रूपमा मानिस विदेश पठाएर जेल बसेको गम्भीर आरोप लगाए।
अर्यालले भने, “३३ दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीविरुद्ध हामी आन्दोलनमा छौँ। संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन समिति माग गरिरहेका छौँ। हिजो यही सदनमा निराधार आरोप लगाउने कोसिस गरियो। राजनीतिलाई पेसा बनाएर देश दोहन गर्नेहरूले पेसा-व्यवसाय गर्नेहरूमाथि गम्भीर आरोप लगाए। २०४८-४९ तिर मन्त्रीका पिए हुँदा कागज किर्ते गरेर मानिस विदेश पठाएर हनुमान ढोकाको चिसो छिँडीमा रात बिताएकाहरू पनि आज यही सदनमा छन्।”

उनले थपे, “मेरो कम्पनी सुमिरे टुर्स एन्ड ट्राभल्सले एक जना मान्छे भिजिट भिसामा जापान वा अन्य देश गएर फर्केन भने प्रमाण पेस गर्न चुनौती दिन्छु। निराधार आरोप संसद्को रेकर्डबाट हटाउन र सभामुखबाट रुलिङ माग गर्छु। हाम्रो आन्दोलनबाट हामी पछि हट्दैनौँ।”
जवाफमा खतिवडाले आफूले व्यक्ति किटान नगरेको भन्दै बचाउ गरे। उनले भने, “हामीले कुनै माननीयको नाम किटान गरेका थिएनौँ। चोरको खुट्टा काट भन्दा खुट्टा झिके जसरी केही माननीय प्रस्तुत हुनुभयो। निष्पक्ष छानबिन हुनुपर्छ। दोषी छ भने कारबाही गरौँ, निर्दोष छ भने सफाइ दिऔँ। २०९ म्यानपावर कम्पनीलाई अवैध रूपमा सञ्चालन अनुमति दिने तत्कालीन श्रम मन्त्रीमाथि छानबिन गर्न माग गर्छु।”
रास्वपाले जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ। माओवादीले सुरुमा यो मुद्दा उठाएर अवरोध गरे पनि दुई बुँदे सहमतिपछि सदन खोल्न तयार भएको थियो।