२०८२ असार १६ गते, सोमबार १९:३८
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • साइबर क्राइम मुद्दा: पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतमा साइबर क्राइमको अभियोगमा मुद्दा दायर भएको छ। नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानपछि यो कदम चालिएको हो।
  • आरोपको आधार: पाठकले शेरबहादुर देउवा, आरजु राणा देउवा र जयवीर देउवाको हिल्टन होटलसहित अस्ट्रेलिया, क्यानडा र दुबईमा लगानी रहेको दाबी गर्दै भिडियो प्रसारण गरेका थिए।
  • कानुनी माग: विद्युतीय कारोबार ऐनअनुसार १ लाख जरिवाना वा ५ वर्ष कैद वा दुवै सजाय माग गरिएको छ। पाठकलाई पक्राउ पुर्जी जारी गर्न र क्षतिपूर्ति तिराउन पनि माग गरिएको छ।

काठमाडौं-
पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर क्राइमको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानपछि सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले पाठकविरुद्ध अभियोग पत्र पेस गरेको हो।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र उनका छोरा जयवीर देउवाको तारे होटल हिल्टनसहित अस्ट्रेलिया, क्यानडा र दुबईमा लगानी रहेको दाबी गर्दै एक कार्यक्रम प्रसारण गरेका थिए। उक्त भिडियो, स्क्रिनसट र सम्बन्धित कागजातहरू अभियोग पत्रसहित अदालतमा पेस गरिएको छ।

प्रहरीले पाठकको बयान नलिई मुद्दा दायर गरेको छ। यसअघि उच्च अदालतले पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो। विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) अनुसार सजाय माग गरिएको छ, जसमा १ लाख रुपैयाँ जरिवाना वा ५ वर्ष कैद वा दुवै सजाय हुन सक्छ। साथै, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ बमोजिम पक्राउ पुर्जी जारी गर्न पनि माग गरिएको छ।

देउवा परिवारको उजुरीमा जाहेरवालाको नाम खुलाइएको छैन। अभियोग पत्रमा पाठकलाई क्षतिपूर्ति तिराउनसमेत माग गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस