२०८२ असार २१ गते, शनिबार १२:५२
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • पक्राउ पुर्जी जारी: जसपा मधेश अध्यक्ष अशोक यादवविरुद्ध सर्लाही प्रहरीलाई धम्की दिएको आरोपमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी।
  • प्रहरी परिचालन: एसपी योगेन्द्रकुमार खड्कालाई तथानाम गाली गरेको अडियो भाइरल भएपछि सर्लाहीमा प्रहरी युनिट खटाइयो।
  • खोजी जारी: यादव हाल फरार छन्, प्रहरीले खोजी तीव्र बनाएको छ, मधेशमा राजनीतिक तनावको आशंका।

सर्लाही-

जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध सर्लाही जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ। सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कालाई टेलिफोनमार्फत धम्की दिएको आरोपमा यादवविरुद्ध आपराधिक उपद्रव कसुरमा शुक्रबार जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सरोज राईका अनुसार, यादवलाई पक्राउ गर्न जिल्लाका सम्पूर्ण प्रहरी युनिट परिचालित छन्। तर, हालसम्म उनलाई पक्राउ गर्न सकिएको छैन। सामाजिक सञ्जालमा भाइरल भएको अडियोमा यादवले एसपी खड्कालाई ‘तराईमा लुट्न आएको लुटेरा’ भन्दै तथानाम गाली गरेको सुनिन्छ।

प्रहरी स्रोतका अनुसार, सर्लाहीस्थित भौतिक पूर्वाधार कार्यालयमा रातिको समयमा सुरक्षा प्रदान गर्ने क्रममा यादवले प्रहरीको उपस्थितिमाथि प्रश्न उठाउँदै एसपीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए। यो अडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरीले कारबाही अघि बढाएको हो।

जसपाका मधेश प्रदेश अध्यक्ष यादवले भने आफूमाथि षड्यन्त्र भएको दावी गरेका छन्। सामाजिक सञ्जालमा उनको समर्थनमा केही व्यक्तिहरूले यो घटनालाई मधेशी जनभावनासँग जोडेर प्रहरीमाथि प्रश्न उठाएका छन्। यद्यपि, प्रहरीले कानुनी प्रक्रिया अनुसार कारबाही अगाडि बढाइरहेको जनाएको छ।

स्थानीय प्रशासनले सर्लाहीमा शान्ति र सुरक्षा कायम राख्न थप सतर्कता अपनाएको छ। यादवको पक्राउका लागि प्रहरीको खोजी तीव्र पारिएको छ, र यो प्रकरणले मधेश प्रदेशमा राजनीतिक र सामाजिक तनाव बढाउने आशंका गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस