काठमाडौं
नेपाली कांग्रेसका नेता डा. मोहम्मद राजिक आलमले आफ्ना बाबु मोहम्मद अफताब आलमविरुद्ध एमाले नेता शैलेन्द्र साहले प्रतिशोध राखेर झुठा मुद्दा लगाएको दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजपुर नगरपालिकाका मेयरसमेत रहेका आलमले २०६४ को संविधानसभा निर्वाचनको समयमा रौतहटको राजपुरमा कथित बम विस्फोटको घटना नै नघटेको जिकिर गरे।

उनले भने, “बम विस्फोट भएकै छैन, घटना घटेकै होइन। यो मुद्दा शैलेन्द्र साहले मेरो बाबुसँगको प्रतिशोधका कारण उठाएका हुन्। २०६४ चैत २७ को कथित घटनाभन्दा एक महिनाअघि नै साहले निर्वाचन अधिकृतलाई निवेदन दिएर यो कुरा उछालेका थिए।”
आलमले आफ्ना बाबु अफताब आलमविरुद्धको मुद्दामा प्रहरीले गौरीशंकर राम चमारलाई एक वर्ष थुनामा राखेको दाबी गरे। अधिवक्ता सञ्जिवकुमार मल्लिकले गौरीशंकरको २०६८ को बयानमा उनको अनुहारको खत सानोमा स्टोभ पड्किएर भएको उल्लेख भएको बताए। मल्लिकले थपे, “गौरीशंकरलाई बनावटी पात्र बनाइएको छ। उनले अदालतमा दिएको बयानमा प्रहरी र अन्य दलका कार्यकर्ताले जबरजस्ती थुनेर कागज गराएको उल्लेख छ।”