२०८२ असार २९ गते, आईतवार १५:४०
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • एमाले मधेश प्रदेशको बैठकले मन्त्री प्रमोद जयसवाललाई फिर्ता बोलायो, कमिशन र नातेदारलाई योजना दिएको आरोप।
  • जयसवालले आरोप निराधार भन्दै पुष्टि भए राजीनामा दिने चुनौती, निर्णयबारे जानकारी नभएको दाबी।
  • बैठकमा नारायणी रंगशाला उपेक्षित र ५ करोड रकम फ्रिज भएको आरोप, पार्टीको इज्जतमाथि प्रश्न उठेको।

वीरगन्ज –
नेकपा (एमाले) मधेश प्रदेशको चौथो बैठकले खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाललाई फिर्ता बोलाउने निर्णय गरेको छ। शनिबार महोत्तरीको बर्दिवासस्थित गौतम होटलमा सम्पन्न बैठकमा मधेश प्रदेश उपाध्यक्ष बिचारी यादवले जयसवाललाई फिर्ता बोलाउने प्रस्ताव पेश गरेका थिए।

प्रस्तावमाथि छलफलपछि जयसवालमाथि पर्साको नारायणी रंगशालालाई बजेटबाट उपेक्षित गरेको, आफ्नो क्षेत्रमा ठूला योजनाहरू केन्द्रित गरेको, आवश्यकताभन्दा बढी एउटै ठाउँमा योजना दिएको, कमिशन लिएर योजनाहरू बिक्री गरेको, बिचौलियामार्फत ३ देखि ५ प्रतिशत कमिशन माग्ने गरेको, कमिशनकै कारण ५ करोड रकम फ्रिज भएको र आफ्ना नातेदारलाई योजनाहरू दिएको आरोप लागेको छ। उपाध्यक्ष यादवले मन्त्रीका गतिविधिले पार्टीको इज्जत र प्रतिष्ठामाथि प्रश्न उठेकाले फिर्ता बोलाउनुपरेको बताए।

यता, मन्त्री जयसवालले गोप्यखबरसँग कुरा गर्दै आफूलाई यो निर्णयबारे जानकारी नभएको र कुनै स्पष्टीकरण नसोधिएको दाबी गरे। उनले भने, “ममाथि लगाइएका आरोपहरू निराधार छन्। यी आरोपहरू पुष्टि गर्न चुनौती दिन्छु, यदि प्रमाणित भए म राजीनामा दिन्छु।”

बैठकको अध्यक्षता मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले गरेका थिए भने मधेश प्रदेश इन्चार्ज तथा सांसद लिलानाथ श्रेष्ठ प्रमुख अतिथि थिए। बैठकमा सांसदहरू ज्वाला साह, जुली महतो, प्रभु हजरा, आठवटै जिल्लाका इन्चार्जसहित कमिटीका सदस्यहरू उपस्थित थिए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस