वीरगन्ज –

नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीका अवसरमा आज वीरगञ्जको बसपार्कस्थित भानुभक्तको सालिकमा माल्यार्पण गरिएको छ। वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सालिकमा माल्यार्पण गर्दै आदिकविप्रति सम्मान व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले भानुभक्तको योगदान स्मरण गर्दै उनले नेपाली भाषा, साहित्य र संस्कृतिमा पुर्याएको अविस्मरणीय योगदानको चर्चा गरे। संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषामा भावानुवाद गरी भानुभक्तले आम जनतासम्म धार्मिक र साहित्यिक चेतना फैलाएका थिए। उनलाई एकता, राष्ट्रियता र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा पनि लिइन्छ।
विक्रम संवत् १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तले घाँसीको प्रेरणाले रामायणको नेपाली अनुवाद गरेर इतिहास रचेका थिए। उनका अन्य कृतिहरू ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ र फूटकर रचनाहरू पनि उत्तिकै उल्लेखनीय छन्। विक्रम संवत् १९२५ असोजमा उनको निधन भएको थियो।
भानुभक्तको जन्मजयन्ती नेपालसहित भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी समुदाय रहेका देशहरूमा श्रद्धापूर्वक मनाइन्छ।