वीरगन्ज –

पूर्व–पश्चिम लोकमार्गको स्तरोन्नति कार्यमा बाधक बनेका सडकछेउका रुख हटाउने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। धनुषाको कमला देखि बारा जिल्लाको पथलैयासम्मको १३० किलोमिटर सडक खण्डमा रहेका ३१,५२९ रुख हटाउन वन तथा भू–संरक्षण विभागले असार २३ गते स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजनाअनुसार कटान आदेश दिएको छ।
कमला–ढल्केवर–पथलैया सडक आयोजनाले रुख व्यवस्थापनको काम अघि बढाएको छ। आयोजनाका प्रमुख छविलाल पौडेलका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन २०८१ मा स्वीकृत भए पनि रुख कटानको अनुमति प्राप्त गर्न दुई वर्ष लागेको थियो। विश्व बैंकको १८ अर्ब ६० करोड ऋण सहयोगमा सञ्चालित यो आयोजना सन् २०२५ को जनवरी १ देखि कमला पुल पश्चिम, सर्लाहीको बडहरी र फूलजोरबाट एकैसाथ सुरु भएको थियो।
हालको दुई लेन सडकलाई सहरी क्षेत्रमा ६ लेन (३१ मिटर चौडाइ) र अन्य क्षेत्रमा ४ लेनसहित मेडियनसहित १८ मिटर चौडा बनाउने लक्ष्य छ। कमला–बडहरी खण्डको जिम्मा भारतीय कम्पनी इकेके इन्फ्रास्ट्रक्चरले लिएको छ भने बडहरी–फूलजोर र फूलजोर–बागमती खण्डमा चिनियाँ कम्पनी एसडब्ल्यु इजे र नेपाली कम्पनी रखुवा कन्स्ट्रक्सनको संयुक्त उपक्रमले काम गरिरहेको छ।
तर, रुख र विद्युतीय पोलका कारण निर्माण कार्यमा ढिलाइ भएको छ। ६ महिनामा १५ प्रतिशत प्रगति हुनुपर्नेमा हालसम्म १० प्रतिशत मात्रै काम भएको छ। प्रस्तावित ३४ पुल र १०० कल्भर्टमध्ये १५ पुल र १७ कल्भर्टको मात्रै निर्माण सम्पन्न भएको छ। प्रमुख पौडेलले रुख र पोल व्यवस्थापनको ढिलाइले डाइभर्सन र सिभिल स्ट्रक्चर निर्माण प्रभावित भएको बताए।
मधेश प्रदेशका वन निर्देशनालय प्रमुख जगन्नाथप्रसाद जयसवालले रुख कटानको प्रक्रिया छिट्टै अघि बढ्ने बताए। उनले भने, “रुखमा टाँचा लगाउने, सूची मिलाउने र समन्वयको काम बाँकी छ, तर यथाशीघ्र कटान सम्पन्न गर्नेछौँ।” सरोकारवालाहरूले निर्धारित समयमा सडक स्तरोन्नति सम्पन्न गर्न अवरोध व्यवस्थापनमा तीव्रता दिनुपर्नेमा जोड दिएका छन्।