वीरगन्ज-

पर्सा जिल्लामा देखिएको खानेपानी अभावलाई सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालय, पर्साले आजदेखि खानेपानी वितरण कार्य सुरु गरेको छ। मधेश प्रदेश सरकारबाट उपलब्ध गराइएका ट्याङ्करहरूको प्रयोग गरी नेपाली सेनाको श्रीजंग गण, पर्सासँगको सहकार्यमा बिहान ५ बजेदेखि राति १० बजेसम्म पानी वितरण हुने जनाइएको छ।
लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीय बासिन्दालाई यो कदमले ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। खानेपानीको समस्या भएका व्यक्ति वा टोलवासीहरूले टोल फ्री हटलाइन नम्बर १८१०५०००२१७ वा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नम्बर ९८५५०७७७७७ मा सम्पर्क गर्न सक्नेछन्। यो कार्यले पर्साका बासिन्दाको खानेपानी समस्यालाई तत्काल सम्बोधन गर्ने लक्ष्य लिएको छ।