वीरगन्ज-

वीरगन्जस्थित नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाललाई विशेष समारोहबीच सम्मानपूर्वक विदाई गरेको छ। पर्सामा कार्यरत रहँदा सामाजिक उत्तरदायित्व र सुरक्षामा उल्लेखनीय योगदान पुर्याएको भन्दै कलेज प्रशासनले यो कार्यक्रम आयोजना गरेको हो।
कलेजका अध्यक्ष प्रोफेसर डा. जैनुदिन अन्सारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रबन्ध/निर्देशक सहनवाज अन्सारी, अस्पताल निर्देशक डा. ईसरत जहाँ अन्सारी, एकाडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, प्रधानाध्यापक प्रोफेसर डा. के.एन. सिंह तथा पर्साका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले धिमालको कार्यकाल स्मरणीय भएको र वीरगन्जको शान्ति सुरक्षामा उनको भूमिका प्रशंसनीय रहेको बताए।
उपरीक्षक धिमालले नेशनल मेडिकल कलेजप्रति आभार व्यक्त गर्दै सामाजिक संस्थाहरूको सहयोगले प्रहरी प्रशासनको काम प्रभावकारी हुने विश्वास व्यक्त गरेको कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले जानकारी गराए।