२०८२ श्रावण ४ गते, आईतवार १६:०४

रौतहट  –

रौतहटको कटहरिया नगरपालिका-५ मा बस्ने पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। ३० वर्षीय प्रजापति गएराति आफ्नो कोठामा मृत अवस्थामा भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटले उनले आत्महत्या गरेको प्रारम्भिक आशंका गरेको छ।

प्रहरी प्रवक्ता डीएसपी दीपक रायका अनुसार, प्रजापतिलाई आफ्नै कोठामा झुण्डिएको अवस्थामा परिवारका सदस्यले फेला पारेपछि नजिकको प्रहरी कार्यालयमा खबर गरेका थिए। राति १० बजे प्रादेशिक अस्पताल गौरमा पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रजापति कटहरियास्थित म्युजिकल एफएममा कार्यरत थिए। एक साताअघि खानेपानीसम्बन्धी समाचार प्रसारण गरेको विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालको नेतृत्वमा प्रजापति र अर्का पत्रकार सागर संगम ठाकुरमाथि कुटपिट भएको थियो। नेपाल पत्रकार महासंघ रौतहट शाखाका अनुसार, मेयर जयसवालले दुवै पत्रकारलाई घरभित्र थुनेर कुटपिट गरेका थिए। यो घटनाको महासंघले कडा विरोध जनाएको थियो।

पारिवारिक तनाव र कुटपिटसहितको दुव्र्यवहारका कारण प्रजापतिले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ। सामाजिक सञ्जालमा पनि यो घटनाले पत्रकारिता क्षेत्रमा स्वतन्त्रतामाथि प्रश्न उठाएको भन्दै मेयर जयसवालमाथि कानुनी कारबाहीको माग उठिरहेको छ।

नेपाल पत्रकार महासंघले प्रजापतिको निधनप्रति दुख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ। प्रजापतिको निधनले स्थानीय पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस