सिरहा –

सिरहा नगरपालिका स्थित कारागारमा आइतबार दिउँसो करिब ४ बजे कैदीबन्दीहरूबीच कुटाकुट भएको छ। यो घटनामा दुवै पक्षका १३ जना घाइते भएका छन्।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार, कारागार प्रशासन र सुरक्षा अधिकारीहरूको टोली घटनास्थल पुगेर आवश्यक सोधपुछ गरिरहेको छ। घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ, र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ। घटनाको प्रारम्भिक छानबिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकसहितको टोली कारागार पुगेको छ।
सिरहा कारागारमा क्षमताभन्दा साढे तीन गुणा बढी कैदीबन्दी रहेको र अवैध कारोबारको आशङ्कामा शनिबार बिहान जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले कारागारका हरेक कोठामा सर्च अपरेसन गरेको थियो। सर्च अपरेसनको भोलिपल्ट भएको यो झडपले कारागारको आन्तरिक सुरक्षा र व्यवस्थापनमाथि प्रश्न उठाएको छ।
जिल्ला प्रशासनले घटनाको विस्तृत अनुसन्धान गरिरहेको र दोषीमाथि कारबाही हुने जनाएको छ। साथै, कारागारमा थप सुरक्षा व्यवस्था कडा पारिएको छ।