२०८२ आश्विन २ गते, बिहीबार १७:३८

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा बलात्कार आरोपमा पक्राउ

काठमाडौं –

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कारको आरोपमा पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहराले झालाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको पुष्टि गरे। “अदालतको अनुमतिपछि हामीले उहाँलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं,” एसपी बोहराले बताए ।

प्रहरीका अनुसार, २३ वर्षीया एक युवतीले झाविरुद्ध काठमाडौंस्थित उनको निवासमा बलात्कार गरेको आरोपमा गत माघ २ गते महिला, बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतले चैत २५ गते पक्राउ पूर्जी जारी गरेको थियो। पूर्जी जारी भएदेखि नै प्रहरीले झाको खोजी गरिरहेको थियो।

झा २०७७ फागुन ७ गते मधेश प्रदेशको प्रमुखमा नियुक्त भएका थिए। उनलाई २०७८ साउन ३२ गते उक्त पदबाट हटाइएको थियो। मधेश मामिलामा विद्यावारिधि गरेका झा पत्रकारिता क्षेत्रमा समेत संलग्न छन् र मधेशवाणी पत्रिकाका सम्पादकका रूपमा परिचित छन्।

यो घटनाले मधेश प्रदेशको राजनीतिक र सामाजिक वृत्तमा तरङ्ग ल्याएको छ। अनुसन्धान प्रक्रिया जारी रहेकाले थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस