२०८२ आश्विन २ गते, बिहीबार १३:०५

नेकपा (एमाले)ले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन रोक लगायो

काठमाडौं-

नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ। सोमबार सम्पन्न केन्द्रीय कमिटीको नवौँ बैठकपछि एमालेले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने घोषणा गरेको हो।

पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा संविधानको भाग ६, धारा ६१ र २६७ को हवाला दिँदै राष्ट्रपतिको भूमिका ‘साझा र गौरवमय’ भएकोले पूर्वराष्ट्रपतिले सक्रिय राजनीति गर्न नहुने उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “राष्ट्रध्यक्ष, संविधानको संरक्षक, सेनाको परमाधिपति र गणतन्त्रको प्रतीकजस्ता जिम्मेवारी बोकेको व्यक्तिले फेरि दल विशेषमा लाग्नु संविधान र लोकतान्त्रिक मूल्यविपरीत हुन्छ।”

एमालेले कुनै पनि दल विशेषमा आबद्ध भई नेता वा कार्यकर्ता बन्नु संविधानको मर्मविपरीत हुने ठहर गरेको छ। पार्टीले आठ बुँदे कारणसहित भण्डारीको राजनीतिक पुनरागमन रोक्ने निर्णय गरेको छ। यद्यपि, पूर्वराष्ट्रपति भण्डारीप्रति उच्च सम्मान व्यक्त गर्दै उनलाई “पूर्वराष्ट्रपतिको भूमिकामै रहनु उपयुक्त हुने” निष्कर्ष निकालेको छ।

यो निर्णयले नेपाली राजनीतिमा नयाँ बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस