२०८२ श्रावण १८ गते, आईतवार २३:११

काठमाडौं-

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारले स्वीकृति नदिँदा स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्ने योजना अलपत्र परेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले आफू मन्त्री भएपछि तीनपटक जनशक्ति थप्ने प्रश्ताव अगाडि बढाएपनि मन्त्रिपरिषद्बाट स्वीकृत नभएको गुनासो गर्नुभएको हो । उहाँले देशभरका संघीय अस्पतालको जनशक्ति जम्मा २६ सय जनामात्रै रहेको भन्दै उपत्यका बाहिरका अस्पतालमा एक तिहाई जनशक्ति पनि नरहेको बताउनु भयो ।

२०४८ सालदेखि स्वास्थ्य मन्त्रालयमा दरबन्दीको ओएनएम (अर्गनाइजेसन एन्ड म्यानेजमेण्ट) नै नभएको उहाँको गुनासो छ । गत वर्ष स्वास्थ्य मन्त्रालयले देशभरिका स्वास्थ्य संस्थामा आवश्यक दरबन्दीको (ओएनएम) सर्वेक्षण गर्दा ९० हजार जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरेको थियो । मन्त्रालयकाअनुसार ओएनएम सर्वेक्षणअनुसार ६० हजार जनशक्ति स्थानीय तहका अस्पतालका लागि, १५ हजार संघीय र १५ हजार प्रदेश अस्पतालको लागि प्रक्षेपण गरेको थियो ।

चालु आर्थिक वर्षमा ३० हजार जनशक्ति पूरा गर्ने उद्देश्यले मन्त्रालयले ओएनएम प्रश्ताव गरेको थियो । तर मन्त्रिपरिषद्बाट ओएनएम नै स्वीकृति नभएको मन्त्री पौडेलको गुनासो छ । यस्तै उहाँले चिकित्सकहरू सरुवा गरेको ठाउँमा जान नमान्ने र उनीहरूलाई कारबाहीसमेत गर्न सक्ने अवस्था नरहेको बताउनु भयो । मन्त्रालयको नम्स नै लागू नहुने अवस्था रहेको मन्त्री पौडेलको गुनासो छ ।

मन्त्री पौडेलले देशभरका अस्पतालमा पर्याप्त जनशक्ति भएमात्रै कुनै प्राकृतिक प्रकोप वा दुर्घटनामा तत्काल सेवा दिन सकिने स्पष्ट पार्नुभयो । काठमाडौं उपत्यकाभित्रकै अस्पतालमा समेत जनशक्ति र क्षमता बढाउनुपर्ने उहाँको भनाई थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस