काठमाडौं —

बलात्कार आरोपमा पक्राउ परेका मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज (राजेश झा) विरुद्ध मुद्दा दायर गरिएको छ। काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले साउन १३ गते उनलाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
पीडित युवतीले दिएको जाहेरीका आधारमा प्रहरीले साउन ४ गते नयाँ बानेश्वरबाट झालाई पक्राउ गरेको थियो। युवतीले आफूलाई २०८१ जेठ ४ गते झाले काठमाडौँको नयाँ बानेश्वरस्थित आफ्नो डेरामा बलात्कार गरेको उल्लेख गरेकी छन्।
जाहेरीअनुसार, पारिवारिक चिनजानको आधारमा डेरामा पुगेका झाले जबरजस्ती आफूमाथि करणी गरेको पीडित युवतीले बयान दिएकी छन्। उनले प्रतिवादीले धम्की दिँदै लगातार करणी गरेको र यसबारे कसैलाई भन्यो भने सामाजिक बहिष्कार गर्ने धम्की दिएको आरोप लगाएकी छन्।
हाल झा प्रहरी हिरासतमा रहेका छन्। काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि यस विषयमा कानुनी प्रक्रिया अघि बढ्ने भएको छ।