काठमाडाैँ-

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि गरिएको मूल्याङ्कनमा देशको आर्थिक वृद्धिदर, मानव विकास सूचकाङ्क र शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार निर्णायक भएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा एलडिसी ग्रेजुएशनसम्बन्धी अध्ययन प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले कोरोना महामारीको असरका बाबजुद नेपालको अर्थतन्त्र नकारात्मक दिशामा नजानु एक महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो । उहाँले कोरोना महामारीपछिको सरकारको मेहेनत र कदमले पुनःस्थापना क्षमताले नेपाललाई एलडिसीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि उपयुक्त देश बनाएको दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सन् २०२६ मा विकासशील राष्ट्रमा उस्तरोन्नति हुँदासम्म कुनैपनि मापदण्डहरु बाँकी नराख्ने समेत बताउनु भयो । उहाँले अध्ययन प्रतिवेदनले सुझावका आधारमा सरकार अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । नेपालले सन् २०१० देखि नै आवधिक योजना, बजेट तथा कार्यक्रममार्फत स्तरोन्नतिका प्रयास गर्दै आएको भए अहिलेसम्म अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन सकेको छैन । प्रतिव्यक्ति कूल राष्ट्रिय आय, मानव सम्पती सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्कका शर्तहरू पूरा गरेपछि स्तरोन्नति हुने विश्वव्यापी मान्यता छ । यी शर्तहरूमध्ये संयुक्त राष्ट्र सङ्घले सन् २०१५, २०१८ र २०२१ मा गरेको मूल्याङ्कनमा नेपालको मानव सम्पती सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क पूरा गरेको भए अहिलेसम्म विभिन्न कारणले स्तरोन्नति हुन सकेको छैन ।