२०८२ श्रावण १६ गते, शुक्रबार १०:१३

राजविराज —

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी विधेयक फिर्ता नलिए मधेशमा जनविद्रोह हुने चेतावनी दिएका छन्। बुधबार सप्तरीको राजविराजमा जसपा नेपाल सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष यादवले वर्तमान सरकारले मधेश विरोधी नीति लाद्न खोजेको आरोप लगाउँदै यस्तो चेतावनी दिएका हुन्।

“वर्तमान सरकारले मधेश विरोधी भूमि विधेयक जबर्जस्ती लाद्न खोजिए मधेशी जनता आफ्नो अस्तित्व र पहिचानको रक्षाका लागि जनविद्रोह गर्न बाध्य हुनेछन्,” अध्यक्ष यादवले भने।

उनले सरकारले वन विनाश, चुरे उत्खनन् र पहाडी वासिन्दालाई मधेशमा अवैध रूपमा बसोवास गराउने षड्यन्त्र गरिरहेको आरोपसमेत लगाए। यस्तो योजनाविरुद्ध सचेत रहन उनले स्थानीय जनतालाई आग्रह गरे।

सरकारको गलत नीतिका कारण मधेश मरूभूमिकरणतर्फ उन्मुख भएको उल्लेख गर्दै यादवले पानीको अभाव र किसान संकटग्रस्त अवस्थामा पुगेको तथ्य औंल्याए। उनले वर्तमान समस्याको समाधानका लागि बजेट संशोधन गरी आवश्यक कदम चाल्न सरकारसँग माग गरे।

पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले जबर्जस्ती लादिएको संविधान देशको हितमा नभएको दाबी गर्दै भने, “गलत संविधानकै कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र जस्तो व्यवस्था पनि बदनाम भएको छ।”

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस