२०८२ श्रावण १६ गते, शुक्रबार ११:१४

पोखरिया —

पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिकामा कर वृद्धि र बेरोजगार युवाहरूको श्रम शोषणविरुद्ध राष्ट्रिय मुक्ति पार्टी नेपालले तीव्र आपत्ति जनाउँदै ज्ञापनपत्र बुझाएको छ।

पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य नेजामुद्दीन शमानीले बुधबार जारी गरेको ज्ञापनपत्रमार्फत पोखरिया नगरपालिकाले पूर्व नगरप्रमुखको पालादेखि सम्पत्ति कर अत्यधिक रूपमा बढाएको र सेवामा सुधार नगरी करको भार मात्र थोपरेको आरोप लगाएका छन्।

उनका अनुसार पहिले ३ सय रुपैयाँ लाग्ने सम्पत्ति कर अहिले १५ सयदेखि ५ हजारसम्म पुर्‍याइएको छ, जुन देश आर्थिक संकटमा परेको बेलामा दुर्भाग्यपूर्ण कदम हो।

ज्ञापनपत्रमा जनप्रतिनिधि र कर्मचारीहरूले बेरोजगार युवाहरूलाई नियुक्तिपत्र दिने भन्दै रकम उठाएर संस्थागत रूपमा ठगी गरेको र उनीहरूलाई नगर प्रहरी, विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालयलगायत विभिन्न ठाउँमा १२ महिना तलबविनै काम गराई अन्ततः निस्कासन गरेको आरोप लगाइएको छ।

मागहरू:
१. नियुक्तिपत्रका नाममा असुल गरिएको रकम फिर्ता गर्नुपर्ने।
२. काम गराइएका युवाहरूलाई तलब भत्ता उपलब्ध गराउनुपर्ने।
३. भविष्यमा विधि र प्रक्रिया पूरा गरेर बेरोजगार युवाहरूलाई रोजगारी दिनुपर्ने।
४. हाल बढाइएको सम्पत्ति कर फिर्ता गर्नुपर्ने।

शमानीले एक महिनाभित्र मागहरू पूरा नभए भण्डाफोरसहित संघर्षको कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस