जनकपुरधाम –
मधेश प्रदेश सरकारले पानीको अभाव र खडेरीको मारमा परेका किसानलाई सहयोग गर्न रु १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खाक्षेत्र सहयोग कार्यक्रमअन्तर्गत यो योजना ल्याएको हो। मन्त्रालयका प्रवक्ता सरोज चौधरीका अनुसार धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीका किसानलाई सम्बन्धित कृषि ज्ञान केन्द्रमार्फत १,२०० वटा स्यालो ट्युबवेल वितरण गरिनेछ।
एक ट्युबवेल जडान गर्न रु १ लाखदेखि ३ लाखसम्म खर्च लाग्ने अनुमान मन्त्रालयले गरेको छ। यदि सोलार प्रणाली जडान गर्ने हो भने थप खर्च हुने बताइएको छ। खर्चको परिमाण पानीको सतह (गहिराइ) अनुसार फरक पर्ने चौधरीले जानकारी दिए।
ट्युबवेल वितरणका लागि सातदिने सूचना जारी गरिएको छ। किसानले ट्युबवेल पाउन कम्तीमा २ बिघा खेतीयुक्त जमिनको प्रमाणित लालपुर्जा कृषि ज्ञान केन्द्रमा पेश गर्नुपर्नेछ।
मन्त्रालयका अनुसार पानीको अभावका कारण मधेश प्रदेशमा हालसम्म ५० प्रतिशत मात्र धान रोपाइँ भएको छ। यस योजनाले खडेरी पीडित किसानलाई सिचाइँमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।