२०८२ श्रावण १८ गते, आईतवार २०:३५

कलैया –

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा मात्र गरेर राहत प्याकेज नल्याउनु नालायकीपन भएको टिप्पणी गरेका छन्।

बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा आजपाद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष साहले मधेसमा देखिएको जलसंकटले सर्वसाधारणदेखि किसानसम्म मारमा परिरहेको अवस्थामा सरकारले राहत प्याकेज ल्याउन ढिलाइ गरेको भन्दै आक्रोश व्यक्त गरे।

“सरकारको काम केवल संकटग्रस्त घोषणा गर्नु मात्र होइन, पीडितका लागि तत्काल राहत प्याकेज ल्याउनुपर्छ। प्याकेज बिना घोषणा गर्नु नालायकीपन हो,” उनले भने।

साहले प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर सयर गर्दै मधेसमा ५०० डिपबोरिङ गाड्ने घोषणा गरे पनि तीन हप्ता बितिसक्दा एक पनि डिपबोरिङ नखोदिएको भन्दै आश्वासनलाई “हावादारी गफ”को संज्ञा दिए।

“प्रधानमन्त्रीज्यू, तपाईंको ५०० डिपबोरिङ कहाँ छ? कहिले गाड्ने हो? बजेट छैन, योजना छैन, जिम्मेवारी लिने निकाय छैन। यस्तो भद्दा मजाक मधेसका जनतासँग किन?” साहले प्रश्न गरे।

उनले तत्काल पीडित जनतालाई राहत प्याकेज ल्याउन र दीर्घकालीन रुपमा पानीको समस्या समाधानका लागि ठोस योजना बनाउन सरकारलाई आग्रह गरे।

प्रधानमन्त्रीको घोषणा बनाम वास्तविकता

घोषणा वास्तविकता (३ हप्ता पछि)
मधेसका ८ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा घोषणा मात्र, राहत प्याकेज छैन
५०० डिपबोरिङ गाड्ने घोषणा एक पनि डिपबोरिङ गाडिएको छैन
पानी समस्या समाधानका दीर्घकालीन योजना बजेट/योजना सार्वजनिक छैन

कार्यक्रममा आजपा बाराका अध्यक्ष राजकिशोर साह, केन्द्रीय सदस्य अशोक लामा, त्रिभुवन साह, उमेश कुशवाहालगायतले मधेसमा चापाकल र इनार सुक्दा जनताले भोगिरहेको पीडाको विषयमा ध्यानाकर्षण गराए।

सरकारले मधेसका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि प्रभावित गाउँहरूमा हालसम्म राहत नपुगेको सहभागीहरूले जनाएका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस