वीरगन्ज —

पर्सा प्रहरीले मानव बेचबिखन तथा ओसारपसारको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा जिल्ला सखुवा प्रसौनी गाउँपालिका–५ का २५ वर्षीय हिरा माझी रहेका छन्। प्रहरीले दिएको जानकारी अनुसार माझीले काठमाडौंबाट वीरगञ्ज ल्याइएकी १४ वर्षीया किशोरीलाई भारतको दिल्लीमा काम लगाइदिने र विवाह गर्ने प्रलोभन देखाएका थिए।
उनीहरू वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिक भारततर्फ जाँदै गर्दा प्रहरी चेकिङ टोलीले फेला पारेको थियो। प्रहरीले किशोरीको सकुशल उद्धार गर्दै माझीलाई तत्काल नियन्त्रणमा लिएको हो।
पक्राउ परेका माझीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता गरिएको छ। साथै, जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।