काठमाडौँ-

राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीहरूको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्।
भारतमा आयोजित म्याट्रिक्स फाइटर नाइट प्रतियोगितामा उपाधि विजेता बनेका नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटको सम्मानमा बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलाडीको सम्मान र खेल क्षेत्रको विकासलाई सरकारको प्राथमिकतामा राख्नुपर्ने बताए।
‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरूले किर्तिमान र सफलता हासिल गर्न सक्छन्,’ राष्ट्रपति पौडेलले भने।
उनले खेलले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा महत्त्वपूर्ण योगदान गर्ने भन्दै खेल क्षेत्रको उन्नतिका लागि सरकार, खेलसँग सम्बन्धित संस्था र निकायले अझ प्रभावकारी ढंगले काम गर्ने अपेक्षा व्यक्त गरे।
‘बझाङको बाघ’ भनेर परिचित रवीन्द्र ढाँटले आफ्नो खेलकौशल, सामर्थ्य, शक्ति र खेलप्रतिको समर्पणमार्फत उपाधि जित्नु सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको राष्ट्रपति पौडेलले उल्लेख गरे।