काठमाडौँ –

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाह जस्ता सामाजिक मूल्य र मान्यतामा प्रतिकूल असर पार्ने कुनै विधेयक संसदमा पेश नगर्ने प्रतिवद्धता जनाएका छन्।
बुधबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसियाले समाजमा नकारात्मक प्रभाव पार्ने खालका कानूनी प्रस्ताव अघि नबढाइने बताएका हुन्। “समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकूल प्रभाव पार्नेगरी बहुविवाह लगायतका कुनैपनि विधेयक यस सम्मानित सदनमा पेश नहुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,” मन्त्री चौरसियाले भने।
हालै सरकारले बहुविवाहसम्बन्धी कानूनी मस्यौदा तयार पारेको भन्दै समाचार सार्वजनिक भएपछि आलोचना भएको थियो। सो विषयमा स्पष्ट पार्दै मन्त्री चौरसियाले विवाह गर्ने उमेर लगायतका केही प्रावधान संशोधनका लागि मात्र विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाइएको बताए।
सांसदहरूले बहुविवाहलाई कानूनी मान्यता दिने प्रयास भइरहेको भन्दै संसदमा सरकारको जवाफ मागेका थिए।