२०८२ श्रावण २४ गते, शनिबार २३:४५

रौतहट –

कटहरियास्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रिज (चिनी मिल) को मुख्य द्वार अगाडि उखु किसानहरूले टायर बालेर विरोध प्रदर्शन गरेका छन्।

उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले सरकारले दिने भनिएको अनुदान रकम तुरुन्त उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। उनले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान पूर्ण रूपमा दिनुपर्ने र ३५ रुपैयाँ कटौती खारेज गर्नुपर्ने मुख्य माग राखेका छन्।

उनका अनुसार आर्थिक वर्ष २०७८/७९ र ८०/८१ का बाँकी १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी अनुदान रकम किसानहरूले अझै पाएका छैनन्। अनुदानमा चासो नदिए देशभर चरणबद्ध आन्दोलन गर्ने चेतावनी किसानहरूले दिएका छन्।

किसानहरूले भदौ ८ गतेदेखि माइतीघर मण्डलामा धर्ना दिने योजना पनि घोषणा गरेका छन्।

बाबा बैजुनाथ सुगर मिलका सञ्चालक बैजु बाबराले सरकारले पूर्ण अनुदान नदिए उखु उत्पादन घट्ने र उद्योगहरू आधा क्षमतामा सीमित बन्ने खतरा रहेको बताएका छन्।

किसानहरूले सरकार, उद्योग र व्यापारीबीच त्रिपक्षीय वार्ता गरी आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उखुको मूल्य यथाशीघ्र निर्धारण गर्नुपर्ने पनि माग गरेका छन्।

यो मुद्दामा थप समाधान नभए किसान आन्दोलन जारी राख्ने चेतावनी दिइएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस