वीरगन्ज-
मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा मधेसमा क्रियाशील तीन जना पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको छ।
मध्य नेपाल मिडिया सञ्चालक समितिको बुधबार बसेको बैठकले उत्कृष्ट महिला पत्रकारिता पुरस्कार जनकपुरकी मोनिका झालाई दिने निर्णय गरेको छ। अन्नपूर्ण पोस्ट दैनिककी मधेस ब्यूरो प्रमुख झालाई १५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ।
त्यसैगरी, ‘खोजी जवाफदेहिता’ स्तम्भकार शिवनाथ प्रसाद यादव र गीता भण्डारीलाई पनि जनही ११ हजार १ सय रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने निर्णय भएको छ। यादवले समाजका बेथितिका विरुद्ध र भण्डारीले सामाजिक मुद्दामा विगत १० वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका छन्।
तीनै पत्रकारलाई भदौ १२ गते आयोजना हुने वार्षिकोत्सव समारोहमा सम्मान गरिनेछ।
मध्य नेपालका सम्पादक कबिता खड्काले यसबारे जानकारी दिएकी छन्।