वीरगन्ज-
पर्साको जगरनाथपुर गाउँपालिकाले आफ्ना बासिन्दालाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन वीरगंज–१५ भेडियाहीस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रा.लि.सँग विशेष सम्झौता गरेको छ।
के भयो?
बुधबार सम्पन्न सम्झौताअनुसार अब गाउँपालिकाका बासिन्दाले मेडिकल कलेजमा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्।
कसले सम्झौता गर्यो?
सम्झौतामा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव र मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले हस्ताक्षर गरेका हुन्।
कस्तो छुट पाउने?
सम्झौताअनुसार OPD टिकटमा २५%, सामान्य बेड चार्जमा १५%, ICU/NICU/PICU बेड चार्जमा १६%, मेजर तथा माइनर सर्जरीमा ८%, प्याथोलोजी परीक्षणमा १०%, भिडियो एक्स-रे, एक्स-रे, ECG, ECHO, TMT, Endoscopy मा ७%, CT Scan/MRI मा ७%, फार्मेसी (OPD) मा १०%, फार्मेसी (IPD) मा १५% र दन्त (Dental) सेवामा ७% छुट उपलब्ध गराइनेछ।
किन गरियो?
गाउँपालिका अध्यक्ष यादवका अनुसार सम्झौताको उद्देश्य आर्थिक रूपमा कमजोर वर्गलाई राहत पुर्याउँदै सबै नागरिकलाई सुलभ, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नु हो।
कहिले लागू हुन्छ?
सम्झौता तत्काल लागू हुने जनाइएको छ।
यसबाट के फाइदा हुन्छ?
गाउँबासीलाई उपचार खर्चमा उल्लेखनीय बचत हुने र गाउँस्तरमै स्वास्थ्य उपचारको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।
अध्यक्ष यादवले भने, “हामी स्वास्थ्य सेवामा पहुँच सबैका लागि सहज र प्रभावकारी बनाउन प्रतिबद्ध छौं। यस सम्झौताले गाउँबासीलाई ठूलो राहत दिनेछ।”