२०८२ श्रावण २२ गते, बिहीबार ०९:१८
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • धान रोपाइँको प्रगति: पर्सा जिल्लामा कुल ३९,७३१ हेक्टरमा रोप्नुपर्नेमा हालसम्म ९२ प्रतिशत (३६,५५३ हेक्टर) क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ। आकाशे पानी भरपर्दा ढिलाइ भए पनि पछिल्लो वर्षाले गति दिएको छ।
  • प्रमुख धान जात र उत्पादन अनुमान: किसानहरूले ढिलो पाक्ने सोना मन्सुली जात रोपेकेले उत्पादनमा ह्रास नहुने अनुमान गरिएको छ। गत वर्ष धान उत्पादन १ लाख ९० हजार मेट्रिक टन रहेको थियो।
  • अन्य बाली उत्पादन स्थिति: पर्सामा गहुँ, मकै, आँप, केरा, दलहन, तेलहन र उखुजस्ता बालीहरू पनि व्यापक उत्पादन भएका छन्। जसमध्ये उखुबाट सबैभन्दा बढी — १ लाख ८१ हजार मेट्रिक टन — उत्पादन भएको छ।

वीरगन्ज —

कृषि ज्ञान केन्द्र, पर्साले जिल्लामा हालसम्म ९२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ। पछिल्लो केही दिनयता परेको वर्षाका कारण रोपाइँको गति तीव्र बनेको हो।

कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरका अनुसार जिल्लाभरि ३९ हजार ७३१ हेक्टरमा धान रोप्नुपर्ने लक्ष्यमध्ये हालसम्म ३६ हजार ५५३ हेक्टर, अर्थात ९२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ। बाँकी रोपाइँ एक साता भित्र सकिने उनको अनुमान छ।

“आकाशे पानीमा भर पर्ने किसानहरूले यसपालि रोपाइँ ढिला गरे पनि पछिल्ला दिनहरूमा परेको पानीले धानखेतीलाई ठूलो सहयोग पुर्‍याएको छ,” प्रमुख ठाकुरले जानकारी दिए।

उनका अनुसार जिल्लामा अधिकांश किसानहरूले सोना मन्सुली जातको धान रोपेकेले ढिलाइ भए पनि उत्पादनमा कुनै ठूलो असर नपर्ने अपेक्षा गरिएको छ। मन्सुली जात ढिलो पाक्ने जात भएकाले समयमै पानी परेमा उत्पादन राम्रो हुने उनले बताए।

गत वर्षको तथ्यांक अनुसार पर्सामा ४७ हजार ९३० हेक्टर क्षेत्रफलमा वर्षे धान रोपिएको थियो, जसबाट एक लाख ९० हजार ९४६ मेट्रिक टन धान उत्पादन भएको थियो। यस्तै, ३५०० हेक्टरमा चैते धान रोपाइँ भई ९८ हजार ९०० मेट्रिक टन उत्पादन भएको थियो।

धानबाहेक पनि पर्सामा अन्य मुख्यबालीहरूको उत्पादन उल्लेखनीय रहेको कृषि ज्ञान केन्द्रको भनाइ छ।

  • गहुँ: २६,१७५ हेक्टरमा रोपाइँ, ९८,२१५ मेट्रिक टन उत्पादन

  • मकै: ४,२२० हेक्टरमा, १०,३७६ मेट्रिक टन

  • आँप: ५४५ हेक्टरबाट ५,८८३ मेट्रिक टन

  • केरा: ३० हेक्टरबाट ५१४ मेट्रिक टन

  • दलहन: ८,५२९ हेक्टरबाट १०,५९५ मेट्रिक टन

  • तेलहन: ७,४६९ हेक्टरबाट ८,१६० मेट्रिक टन

  • उखु: ३,९६० हेक्टरबाट एक लाख ८१ हजार १०० मेट्रिक टन उत्पादन भएको छ।

कृषि ज्ञान केन्द्रले समयमा वर्षा भएमा यस वर्ष पनि पर्सामा धानसहित अन्य बालीको उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस