२०८२ श्रावण २२ गते, बिहीबार ०९:१८
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • मजदुरलाई रोजगारीको प्रलोभन देखाएर भारत लगियो, मिर्गौला झिकियो:सिन्धुलीका खिलबहादुर भुजेललाई काठमाडौँबाट सुनौली नाका हुँदै भारत पुर्‍याएर बेहोस बनाइ मिर्गौला निकालिएको पाइएको छ।
  • मानव बेचबिखन अनुसन्धान ब्युरोले एकजनालाई पक्राउ गर्‍यो:नुवाकोटका समीर परियारलाई मिर्गौला तस्करीमा संलग्न भएको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।
  • एक्सरे रिपोर्टले पुष्टि गर्‍यो मिर्गौला छैन:सिन्धुलीमा उपचारको क्रममा गरिएको एक्सरेले भुजेलको देब्रे मिर्गौला नभएको देखाएको छ, प्रहरी र ब्युरोले थप अनुसन्धान गरिरहेको छ।

सिन्धुली –

सिन्धुलीका एक युवकलाई भारत पुर्‍याएर मिर्गौला निकालिएको घटना सार्वजनिक भएको छ। पीडित दुधौली नगरपालिका–१ का ३२ वर्षीय खिलबहादुर भुजेल हुन्।

प्रहरीका अनुसार भुजेललाई रोजगारी दिने प्रलोभन देखाएर काठमाडौँबाट भारत लगिएको थियो। प्रारम्भिक अनुसन्धानमा उनलाई सुनौली नाका हुँदै भारत लगिएको र साउन ९ गते मिर्गौला निकालिएको खुलेको छ।

घटनामा संलग्न रहेको आरोपमा नुवाकोटका समीर परियारलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। उनी एक व्यक्तिको मिर्गौला तस्करी गराएर ५० हजार रुपैयाँ कमिसन लिने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

भाइ मानबहादुर भुजेलका अनुसार, पीडितलाई कीर्तिपुरमा स्वास्थ्य परीक्षण गराई विभिन्न स्थानमा खाजा र मदिरा खुवाएर सुनौली नाका हुँदै भारत लगिएको थियो।

साउन १० गते काठमाडौँको कलंकीस्थित सडक पेटीमा बेहोस अवस्थामा भेटिएका भुजेललाई साथीको सहयोगमा सिन्धुली फर्काइएको थियो।

पेट दुखेपछि अस्पताल पुर्‍याइएका भुजेलको डकाहास्थित समिट माउन्टेन अस्पतालमा गरिएको भिडियो एक्सरेमा देब्रेतिरको मिर्गौला नरहेको पुष्टि भएको हो। चिकित्सकका अनुसार उनको शरीरमा ३० वटा टाँका लगाइएको देखिएको छ।

भुजेल परिवारले सोमबार स्थानीय प्रहरीमा उजुरी दिएका छन्। उजुरीपछि सिन्धुली प्रहरीले पीडितको घरमै पुगेर बयान लिएको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले घटनाको अनुसन्धान जारी राखेको छ। प्रहरीका अनुसार भुजेलसँगै अन्य ५ जना व्यक्तिलाई पनि भारत लगिएको आशंका गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस