काठमाडौं –
नेपाली युवालाई प्रलोभनमा पारेर भारत पुर्याई मिर्गौला तस्करी गर्ने गिरोहमा संलग्न थप दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–९ निवासी २४ वर्षीय समिर नेपाली र ४७ वर्षीय राकेश नेपाली रहेका छन्। उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको एसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो।
यसअघि काभ्रेको पाँचनखाल नगरपालिका–१० का ३५ वर्षीय कुमार (राजकुमार) परियार पक्राउ परिसकेका थिए। हालसम्म यो प्रकरणमा तीन जना पक्राउ परिसकेका छन्।
मासिक तलबको लोभ देखाई भारत पुर्याइएको
सिन्धुलीका पीडित युवकलाई भारतमा होटलमा मासिक भारतीय रुपैयाँ १०–२० हजार कमाइ हुने भन्दै प्रलोभनमा पारिएको थियो। २०८२ सालको जेठ महिनामा उनलाई कोठेश्वरबाट कलंकी हुँदै बुटवल, भैरहवा र सुनौली नाका पार गरेर भारत पुर्याइएको थियो।
सुरुमा पीडितले पोखराबाट भारत लगिएको बताएका थिए। तर, प्रहरीको सोधपुछमा प्रलोभन देखाएर कोठेश्वर हुँदै लगिएको खुलाएका हुन्।
संगठित अपराधको अनुसन्धान सुरु
एसपी कुँवरका अनुसार प्रारम्भिक अनुसन्धानमा यो गिरोहले योजनाबद्ध तरिकाले मानव अंग तस्करी गरेको पुष्टि भएकाले संगठित अपराधअन्तर्गतको छानबिन पनि थालिएको छ।
उनले भने, “यो समूहले संगठित रूपमा मानव अंग तस्करी गरेको प्रमाण भेटिएकाले अब संगठित अपराधसम्बन्धी मुद्धा पनि अघि बढाइन्छ।”
प्रहरीको निगरानी कडा
मानव अंग तस्करीजस्तो जघन्य अपराधमा संलग्नहरूमाथि कडा निगरानी राखी थप संलग्नहरूको खोजी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
मानव अंग तस्करीप्रति सरकार र सुरक्षा निकायहरूको गम्भीर ध्यानाकर्षण भइरहेको बेला यस घटनाले फेरि नेपाली युवाको असुरक्षा र गिरोहको पहुँचबारे प्रश्न उठाएको छ।