२०८२ श्रावण २३ गते, शुक्रबार १८:३७

वीरगन्ज , २२ साउन ।
वीरगन्ज उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमशीलता विकास समितिले पर्सा–बारा जिल्लाका विभिन्न क्षेत्रका सक्रिय महिलाको सामाजिक पहिचान उजागर गर्ने उद्देश्यसहित यही भाद्र १४ गते शनिवार “बृहत् महिला सम्मेलन २०८२” आयोजना गर्ने भएको छ।

सम्मेलनमा नेपालका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्य रहनेछ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा “नारी : शक्ति, समर्पण र सम्मान” विषयमा कार्यशाला गोष्ठी तथा प्रेरणादायी महिलाहरूसँग प्यानल छलफल आयोजना गरिने भएको छ।

समितिका अनुसार, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य र सामाजिक सेवासहित विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका ३०–४० जना महिलालाई कार्यक्रमको अवसरमा विशेष सम्मान गरिनेछ। साथै, राष्ट्रिय स्तरमा पहिचान बनाएका महिलाहरूको सहभागितामा विभिन्न विधामा प्यानल छलफलसमेत गरिनेछ।

कार्यक्रमको उद्देश्य महिला उद्यमीहरूको नेतृत्व क्षमता विकास गर्नुका साथै उद्योग–व्यापार प्रवर्द्धन तथा समाजमा महिलाको समुज्ज्वल पहिचान स्थापित गर्नुपर्ने विषयमा छलफल गर्नु रहेको समितिले जनाएको छ। सम्मेलनमार्फत महिलाहरूलाई उद्यमशीलता, सामाजिक सेवा र राष्ट्र निर्माणतर्फ प्रेरित गर्ने लक्ष्य लिइएको छ।

सम्मेलनको तयारीका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक निरज अग्रवाल, सह–संयोजक अनुप अग्रवाल, महिला उद्यमशीलता विकास समितिकी संयोजक डा. लक्ष्मी थापा, सङ्घका अध्यक्ष हरिप्रसाद गौतमलगायत पदाधिकारीको उपस्थिति थियो। पत्रकार सम्मेलनमा नेपाल रेडक्रस सोसाइटीकी गुडि साहले स्वागत मन्तव्य राखेकी थिइन् भने नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले आसन ग्रहण गरेका थिए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस