वीरगन्ज —

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगन्जको आयोजनामा र बारागढी गाउँपालिका, खोपवाको सहकार्यमा आज एक दिवसीय निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत वरिष्ठ फिजिसियन डा. सुधाकर झा, बालरोग विशेषज्ञ डा. रञ्जित कुमार चौरसिया र स्त्री रोग विशेषज्ञ डा. संतोश झा लगायतका चिकित्सकहरूले स्थानीयबासीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए। यस कार्यक्रममा सेवा लिने सबैलाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो।
कुल २६३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको र ५७ जना स्वयंसेवकहरूले रक्तदान गरेको आयोजकहरूले जनाएका छन्।
नेशनल मेडिकल कलेजतर्फ अस्पताल निर्देशक डा. इसरत जहान अन्सारी, प्रमुख सूचना अधिकृत ई. प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, गुणस्तर तथा सञ्चालन प्रमुख ब्रज किशोर चौधरी, म्याट्रोन बिकास कुमार र रक्त बैंक कार्यक्रम संयोजक बिनेश चौधरी लगायतका उच्च पदस्थ कर्मचारीहरू कार्यक्रममा उपस्थित थिए।
त्यस्तै, बारागढी गाउँपालिकाका नगर प्रमुख अशोक कुमार जयसवाल, स्वास्थ्य सचिव ओमप्रकाश चौधरी, प्रसूति केन्द्र प्रमुख र अन्य पदाधिकारीहरूले समेत कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए।
कार्यक्रमको विशेष अवसरमा नगर प्रमुख जयसवालले अस्पताल निर्देशक डा. इसरत जहान अन्सारीलाई मायाको चिनो प्रदान गर्दै सहभागी चिकित्सक, अधिकारी तथा कर्मचारीहरूलाई सम्मानपत्र वितरण गर्नुभएको थियो।
आयोजक पक्षले यस प्रकारको संयुक्त प्रयासले समुदायस्तरमा स्वास्थ्य सेवा पहुँच विस्तारमा ठूलो योगदान पुगेको बताएको छ।