काठमाडौँ –
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित जलुवाटोलमा आज बिहान बस र विङ्गर बीच भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।
बिहान करिब ७:१५ बजे पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये ३ जनाको सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ। थप १० जना मध्यम तथा ११ जना सामान्य घाइतेहरूको सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको थियो।
झापाको अर्जुनधारा नगरपालिका–१ बस्ने ३६ वर्षीय बस चालक गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विङ्गरका चालक पनि घाइते छन् र उनको उपचार जारी छ।
प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको छ।