२०८२ श्रावण २८ गते, बुधबार १७:००

काठमाडौं –

विराटनगरस्थित बाल सुधार गृहमा प्रहरी र बालबालिकाबीच झडप हुँदा एक प्रहरी घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

सुधारगृहका प्रमुख गायत्रीप्रसाद ढकालका अनुसार केही बालबालिकाले सुर्ति सेवन गरिरहेको आशंकामा प्रहरीले चेकजाँच थालेपछि विवाद सुरु भई झडपमा परिणत भएको हो। झडपका क्रममा सुधारगृहका बालबालिकाको आक्रमणबाट एक प्रहरी घाइते भई उपचारका लागि कोशी अस्पताल पठाइएको छ।

घटनास्थलमा चारै सुरक्षा निकायका प्रमुखहरू पुगेका छन् भने थप प्रहरी बल परिचालन गरिएको छ। सुधार प्रशासनले १८ वर्ष नाघेका केही युवाहरूले वातावरण बिगारेको आरोप लगाएको छ।

हाल सुधारगृहमा १२ देखि ३२ वर्ष उमेर समूहका २४९ जना राखिएका छन्, जबकि क्षमता ५० जनाको मात्र हो। क्षमताभन्दा धेरै कैदीबालबालिका भएकाले व्यवस्थापनमा चुनौती आएको अधिकारीहरूले बताएका छन्।

केही बालबालिका झडपको क्रममा भागेको आशंका गरिएको छ, तर यो पुष्टि भइसकेको छैन। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अवस्था नियन्त्रणमा ल्याउन प्रयास भइरहेको छ र घटनाबारे अनुसन्धान जारी छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस