२०८२ श्रावण २९ गते, बिहीबार १२:४९
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • क्षमता भन्दा बढी कैदीबन्दी – सात सय क्षमताको वीरगंज बन्दी सुधारगृहमा हाल १,३१० जना कैदीबन्दी छन्, जसमा ९७९ जना थुनुवा र ३२९ जना मात्र सजाय भुक्तान गरिरहेका कैदी हुन्।
  • सुविधा र संरचना अभाव – सुत्ने स्थान, शौचालय र सरसफाइको सुविधा अपुग, बिरामी हुने दर उच्च, पुरुष ब्लकमा कोचिएर बस्ने अवस्था।
  • स्वास्थ्य सेवा कमजोर – एकजना मात्र अहेब कार्यरत, आपतकालीन उपचार सुविधा नहुँदा हृदयघातका कारण एक कैदीको मृत्यु, स्वास्थ्यकर्मी थपका लागि माग भए पनि व्यवस्था नभएको।

वीरगन्ज  –

वीरगन्जस्थित बन्दी सुधारगृहमा क्षमता भन्दा दोब्बर कैदीबन्दी बस्दा स्वास्थ्य, सरसफाइ र विश्रामस्थलमा गम्भीर समस्या देखिएको छ। सात सयको क्षमता भएको यो राणाकालीन सुधारगृहमा हाल एक हजार ३१० जना कैदीबन्दी छन्, जसमा एक हजार २४५ पुरुष र ६५ महिला रहेका छन्। महिला ब्लकमा दुई जना बालबालिका आमासँगै आश्रित अवस्थामा छन्।

तथ्याङ्क अनुसार यहाँ ३२९ जना मात्र सजाय भुक्तान गरिरहेका कैदी र बाँकी ९७९ जना विभिन्न मुद्दामा पुर्पक्षमा रहेका थुनुवा छन्। थुनुवामध्ये कतिपयले तोकिएको सजाय भन्दा बढी समय सुधारगृहमा बिताइसकेका छन्, तर अदालती खर्च बढी र क्षतिपूर्ति रकम कम हुने कारणले कानुनी दाबी गर्न नपुगेको पाइएको छ।

सुधारगृहमा पुरुष ब्लकमा सुत्ने स्थानको अभावले कैदीबन्दीहरू कोचिएर बस्न बाध्य छन्। शौचालयको संख्या अपुग भएकाले बिहान लामो समय पालो कुर्नुपर्ने र सरसफाइमा कमी रहने कैदीबन्दीहरूको गुनासो छ।

स्वास्थ्य सेवामा पनि गम्भीर समस्या छ। एक हजारभन्दा बढी कैदीबन्दीका लागि केवल एकजना अहेब (सहायक स्वास्थ्यकर्मी) कार्यरत छन्। मधुमेह, रक्तचाप, ज्वरो, झाडापखालाजस्ता रोगका बिरामी धेरै भए पनि तत्काल उपचार र आपतकालीन स्वास्थ्य सुविधा अभाव छ। हालै साउन २६ गते व्यायामपछि हृदयघातका कारण कैदी तुराहाको मृत्यु समयमै उपचार नपाउँदा भएको परिवारको आरोपमा आंशिक सत्यता रहेको प्रशासन स्रोतको भनाइ छ।

जेल प्रशासनका अनुसार स्वास्थ्यकर्मी थपका लागि केन्द्रीय कारागार विभागमा पटक–पटक पत्राचार गरिए पनि अहिलेसम्म व्यवस्था भएको छैन। कैदीबन्दी सङ्ख्या घटाउने र स्वास्थ्य तथा आधारभूत सुविधा सुधार गर्न तत्काल पहल आवश्यक रहेको सरोकारवालाहरूको चेतावनी छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस