काठमाडौं –
भदौ तेस्रो सातामा हुने चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रुपमा भेटवार्ता गर्ने सम्भावना बढेको छ।
१५–१६ भदौमा चीनको तियान्जिनमा आयोजना हुने सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनका क्रममा यो भेटवार्ता तय हुने भएको हो। चीन र भारत दुवै एससीओका सदस्य राष्ट्र हुन् भने नेपाल ‘डायलग पार्टनर’ को हैसियतमा सहभागी छ।
सामान्यतया ‘डायलग पार्टनर’ मुलुकका प्रमुख एससीओ शिखर सम्मेलनमा सहभागी नहुने परम्परा भए पनि प्रधानमन्त्री ओलीलाई १७ भदौमा बेइजिङमा हुने ‘मिलिटरी परेड’ मा विशेष निमन्त्रणा प्राप्त भएको छ। यही कारण उनले सरकार प्रमुखको हैसियतमा सम्मेलनमा सहभागी हुने दुर्लभ अवसर पाएका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको चीन भ्रमण र उक्त उच्चस्तरीय भेटवार्ताको सम्भावना थप बलियो बन्दै गएको छ।