वीरगन्ज —
नेपाली राजनीतिमा इमानदारी र नैतिकताको दुर्लभ आवाज मानिने स्वर्गीय प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसरमा भदौ ७ गते शनिबार वीरगञ्जमा विशेष कार्यक्रम हुने भएको छ। प्रदीप गिरी इन्स्टिच्युट (PGI)ले शुक्रबार पत्रकार सम्मेलनमार्फत कार्यक्रममा सम्बन्धी जानकारी दिएको हो।
“उत्साह र सङ्घर्षको आलोकमा : प्रदीप गिरिको सम्झना” शीर्षकमा आयोजना हुने कार्यक्रममा नेपाल र भारतका राजनीतिक अगुवा, विचारक, युवा, नागरिक समाजका प्रतिनिधि तथा गिरिका मित्रहरूको उपस्थिति रहनेछ।
कार्यक्रम बिहान १०ः३० बजे वीरगन्ज उद्योग वाणिज्य संघको सभाहलमा सुरु हुनेछ। पहिलो चरणमा श्रद्धाञ्जली अर्पण र जीवन–विचारमाथि आधारित वृत्तचित्र प्रदर्शन, दोस्रो चरणमा स्वागत तथा स्मरण मन्तव्य र तेस्रो चरणमा राजनीति, अर्थतन्त्र, संस्कृति तथा क्षेत्रीय सम्बन्धबारे प्यानल छलफल हुनेछ।
प्यानल छलफलमा सीमावर्ती क्षेत्रको ऐक्यबद्धता, आर्थिक सहकार्य, साझा संस्कृति र युवालाई नवप्रवर्तनतर्फ उन्मुख गराउने विषयमा विचार–विमर्श गरिने आयोजकको भनाइ छ।
PGI का संयोजक कन्चन झाले संस्थाको ध्येयबारे जानकारी दिँदै भने, “प्रदीप गिरिको जीवन र विचारलाई जीवन्त राख्दै न्यायसंगत र समावेशी समाज निर्माणका लागि अनुसन्धान, संवाद र क्रियाशीलतालाई प्रोत्साहन गर्नु हाम्रो उद्देश्य हो।”
पत्रकार सम्मेलनमा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, पत्रकार सुष्मा शर्मा लगायतको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण विवेक कर्णले गरेका थिए।