रौतहट-
देवाही गोनाही नगरपालिका–९, धरहरीमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेलामा उद्घाटनको क्रममा दुई पक्षबीच झडप हुँदा मेयरसहित तीनजना घाइते भएका छन्।
श्रीराम जानकी ब्रह्माबाबा मठमा आयोजना गरिएको मेलामा मेयर प्रेमलाल साह र स्थानीय रामविनोद साह पक्षबीच विवाद उत्पन्न हुँदा झडप भएको प्रहरीले जनाएको छ। मेयर साह उद्घाटन गर्न मठ परिसर पुगेपछि रामविनोद साह पक्षले विरोध गर्दै उद्घाटन हुन नदिने अडान लिँदा दुवै पक्षबीच हातापात भएको हो।
झडप नियन्त्रण गर्ने क्रममा मेयर साहसँगै इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी जवान धनसुन्दर ठाकुर र जगदीश यादव घाइते भएका छन्। घाइतेहरूको गरुडास्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ।
घटनामा संलग्न भएको आरोपमा रामविनोद साह, उनका १६ वर्षीय छोरा ऋतिक साह र भाइ राधामोहन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूलाइ इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ।